ATO logo

तपाईंको सुपर (निवृत्तिभरण) सम्बन्धी आधारभूत जानकारी

A basic guide about what superannuation is, how to save it and what you can do to grow it - Nepali translation.

Last updated 17 July 2026

सुपर (निवृत्तिभरण) भनेको के हो?

सुपरएनुएसन, वा ‘सुपर (निवृत्तिभरण)’ भनेको, तपाईंले कामबाट अवकाश लिएपछि जीवनयापन गर्नका लागि आफ्नो कार्यजीवनभर बचत गर्नुभएको रकम हो।

सुपर (निवृत्तिभरण) तपाईंका लागि महत्त्वपूर्ण छ, किनभने तपाईंले जति बढी बचत गर्नुहुन्छ, अवकाशपछिका लागि त्यति नै बढी रकम बचत हुनेछ।

तपाईंले आफ्नो सुपर (निवृत्तिभरण) को रकम केवल निश्चित परिस्थितिहरूमा मात्र निकाल्न सक्नुहुन्छ — उदाहरणका लागि, 60 वर्षको उमेर पुगेपछि अवकाश लिँदा, वा अझै काम गरिरहनुभएको भएपनि 65 वर्षको उमेर पुगेपछि।

मैले कसरी सुपर (निवृत्तिभरण) बचत गर्न सक्छु?

अधिकांश व्यक्तिहरूका लागि, तपाईंको रोजगारदाताले तपाईंको सुपर (निवृत्तिभरण) खातामा न्यूनतम रकम — ‘योगदान’ — जम्मा गरिदिन्छन्। यसलाई ‘सुपर (निवृत्तिभरण) ग्यारेन्टी’ भनिन्छ। उनीहरूले यी योगदानहरू तपाईंको तलब तथा ज्यालाको अतिरिक्त रूपमा भुक्तानी गर्छन्।

तपाईंको रोजगारदाताले कति सुपर (निवृत्तिभरण) भुक्तानी गर्नुपर्छ भन्ने सम्बन्धमा कानुनी व्यवस्था छ। उधम सम्झौता वा अवार्ड अन्तर्गत तपाईंको रोजगारदाताले तपाईंका लागि अतिरिक्त सुपर (निवृत्तिभरण) पनि भुक्तानी गर्नुपर्ने हुन सक्छ।

तपाईंलाई जति रकम भुक्तानी गरिए तापनि, तपाईंको रोजगारदाताले तपाईंको सुपर (निवृत्तिभरण) मा रकम जम्मा गरिदिनु पर्छ।

तपाईं क्याजुअल, अंशकालीन वा पूर्णकालीन रूपमा काम गर्ने भए पनि वा अस्थायी बासिन्दा हुनुहुन्छ भने पनि यो नियम लागू हुन्छ। यदि तपाईंसँग अष्ट्रेलियाली व्यवसाय संख्या (ABN) भए पनि तपाईं आफ्नो श्रम बापत ज्याला प्राप्त गर्ने ठेकेदार (कन्ट्राक्टर) हुनुहुन्छ भने तपाईं यसका लागि योग्य हुन सक्नु हुन्छ। यदि तपाईं 18 वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने, योग्य हुनका लागि तपाईंले एक हप्तामा 30 घण्टाभन्दा बढी काम गर्नुपर्छ।

मेरो सुपर (निवृत्तिभरण) मा रकम जम्मा कसरी गरिन्छ?

तपाईंको रोजगारदाताले तपाईंको योग्य आम्दानी (qualifying earnings) को वर्तमान सुपर (निवृत्तिभरण) ग्यारेन्टी दर (अंग्रेजीमा) अनुसारको न्यूनतम रकम सुपर (निवृत्तिभरण) मा जम्मा गरिदिनुपर्छ। तलब भुक्तानी भएको मितिबाट (अर्थात् योग्य आम्दानी (qualifying earnings) भुक्तानी भएको दिनबाट) बढीमा 7 कार्य दिवसभित्र यो रकम तपाईंको सुपर (निवृत्तिभरण) कोषमा पुगेको सुनिश्चित गर्नुपर्छ।

योग्य आम्दानी (qualifying earnings) भनेको तपाईंको नियमित तलब, ज्याला तथा सुपर (निवृत्तिभरण) ग्यारेन्टी योगदानका लागि योग्य अन्य आम्दानीहरू हुन्।

तपाईंले आफ्नो सुपर (निवृत्तिभरण) बचतमा आफ्नै रकम पनि थप्न सक्नुहुन्छ, र कहिलेकाहीँ अष्ट्रेलियाली सरकारले पनि रकम जम्मा गरिदिन्छ

मैले कसरी आफ्नो सुपर (निवृत्तिभरण) बचतको अभिलेख राख्न सक्छु?

तपाईंको सुपर (निवृत्तिभरण) कोषसँग तपाईंको कर फाइल नम्बर (TFN) रहेको सुनिश्चित गर्नाले तपाईंको सुपर (निवृत्तिभरण) को अभिलेख राख्न, खाताहरूबीच स्थानान्तरण गर्न तथा रोजगारदाता वा सरकारबाट सुपर (निवृत्तिभरण) भुक्तानी प्राप्त गर्न सजिलो हुन्छ।

तपाईंलाई पठाइने विवरणहरू हेरेर तपाईंको कोषसँग तपाईंको TFN छ कि छैन भनेर पत्ता लगाउन सक्नुहुन्छ।

myGov प्रयोग गरेर आफ्नो सुपर (निवृत्तिभरण) खाताको अवस्था बुझ्नुहोस्

निम्न प्रयोजनको लागि तपाईं myGov खाता बनाई उक्त खाता ATO सँग जोड्न सक्नुहुन्छः

  • तपाईंले अभिलेख राख्न छुटाएका वा बिर्सिएका सुपर (निवृत्तिभरण) खाताहरूको विवरण हेर्न सक्नुहुन्छ
  • आफ्नो सुपर (निवृत्तिभरण) खाताको कार्यसम्पादन र शुल्कलाई अन्य MySuper उत्पादनहरूसँग तुलना गर्न YourSuper तुलना उपकरण (अंग्रेजीमा) प्रयोग गर्न सक्नुहुन्छ
  • ATO द्वारा राखिएको सुपर (निवृत्तिभरण) पत्ता लगाउन सक्नुहुन्छ। यदि सरकार, तपाईंको सुपर(निवृत्तिभरण) कोष वा रोजगारदाताले सुपर(निवृत्तिभरण) बापत जम्मा गरिनु पर्ने रकम जम्मा गर्ने खाता भेटेनन भने हामी तपाईंको पक्षबाट उक्त रकम आफूसँग राखिदिन्छौँ
  • यदि आफ्नो सुपर (निवृत्तिभरण)लाई इच्छाईएको सुपर (निवृत्तिभरण) खातामा स्थानान्तरण गरेर धेरै सुपर (निवृत्तिभरण) खाताहरू एकीकृत गर्न सक्नुहुन्छ — यदि यो कोष-देखि-कोष स्थानान्तरण हो भने, सामान्यतया 3 कार्य दिवस भित्र प्रक्रिया पूरा हुन्छ।

अर्को चरणहरू:

  • myGov खाता(External Linkअंग्रेजीमा) खोल्नुहोस् वा उक्त खातामा लग इन गरी ATO सँग जोड्नुहोस्
  • हाम्रो online services (अंग्रेजीमा) प्रयोग गर्नुहोस्
  • ATO app मार्फत myGov चलाउनुहोस् (अंग्रेजीमा)
  • आफ्नो सुपर (निवृत्तिभरण) को अवस्थाको समीक्षा गर्न यो जाँचसूची प्रयोग गर्नुहोस् ।

यदि मेरो रोजगारदाताले सही सुपर (निवृत्तिभरण) भुक्तानी गरिरहेको छैन भने के गर्ने?

आफ्नो रोजगारदातासँग कुरा गर्नुहोस्। उनीहरूलाई निम्न प्रश्न सोध्नुहोस्:

  • उनीहरूले कति समयको अन्तरालमा तपाईंको सुपर (निवृत्तिभरण) भुक्तानी गरिरहेका छन्
  • उनीहरूले कुन कोषमा भुक्तानी गरिरहेका छन्
  • उनीहरूले कति रकम भुक्तानी गरिरहेका छन्।

तपाईंको रोजगारदाताले तपाईंको सुपर (निवृत्तिभरण) भुक्तानी गरेको छ भन्ने पुष्टि गर्न आफ्नो सुपर (निवृत्तिभरण) कोषबाट प्राप्त पछिल्लो सदस्य विवरण (Member statement) जाँच गर्नुहोस् वा कोषसँग सम्पर्क गर्नुहोस्।

यदि अझै पनि तपाईंको रोजगारदाताले तपाईंलाई प्राप्त हुनुपर्ने सुपर (निवृत्तिभरण) भुक्तानी गरिरहेको छैन भन्ने लाग्छ भने, तपाईंले:

मैले कसरी सुपर (निवृत्तिभरण) कोष (संस्था) को छनोट गर्न सक्छु?

अधिकांश व्यक्तिहरूले आफ्नो योगदान जम्मा गरिने सुपर (निवृत्तिभरण) कोष (संस्था) को छनोट गर्न सक्छन्। तपाईं यो सेवा प्राप्त गर्न योग्य हुनुहुन्छ भने तपाईंको रोजगारदाताले तपाईंले काम गर्न थालेको 28 दिनभित्र तपाईंलाई सुपरएनुएसन स्टान्डर्ड च्वाइस फारम(अंग्रेजीमा) नामक फारम भर्न लगाउनुपर्छ, ताकि तपाईंले आफ्नो छनोट लिखित रूपमा गर्न सक्नुहोस्।

YourSuper तुलना उपकरण (अंग्रेजीमा) ले तपाईंलाई MySuper उत्पादनहरू तुलना गर्न र तपाईंको आवश्यकता अनुरूपको सुपर(निवृत्तिभरण) कोष छनोट गर्न मद्दत गर्नेछ।

यदि तपाईंले सुपर (निवृत्तिभरण) कोष छनोट गर्नुभएन भने, तपाईंको रोजगारदाताले तपाईंको योगदान तपाईंको विद्यमान सुपर (निवृत्तिभरण) कोषमा (जसलाई स्टेपल्ड सुपर कोष (stapled super fund) भनिन्छ)(अंग्रेजीमा) जम्मा गर्छन।

स्टेपल्ड सुपर कोष (stapled super fund) भनेको कुनै कर्मचारीसँग जोडिएको (‘स्टेपल गरिएको’) विद्यमान सुपर खाता हो, जसले कर्मचारीले जागिर परिवर्तन गर्दा पनि निरन्तर रूपमा उसैसँग आबद्ध रहन्छ।

यदि तपाईंसँग स्टेपल्ड सुपर कोष (stapled super fund) छैन भने, तपाईंको रोजगारदाताले आफूले छनोट गरेको सुपर कोष (संस्था) मा तपाईंको सुपर (निवृत्तिभरण) योगदान भुक्तानी गरिदिन्छन।

यदि तपाईं आफ्नो योगदान विद्यमान सुपर(निवृत्तिभरण) खातामा जम्मा गर्न चाहनुहुन्छ तर आफ्नो सुपर (निवृत्तिभरण) कोष खाताको विवरण सम्झन सक्नुहुन्न भने, तपाईंले myGov प्रयोग गरेर आफ्ना सबै सुपर(निवृत्तिभरण) खाताहरू हेर्न सक्नुहुन्छ।

आफ्नो सुपर (निवृत्तिभरण) बारे जानकारी राख्न र त्यसको व्यवस्थापनमा ध्यान दिन सुरु गर्न अहिले नै उपयुक्त समय हो। आफ्नै सुपर(निवृत्तिभरण) कोष छनोट गर्नुहोस् र नियमित रूपमा जानकारी राख्नुहोस् र त्यसको व्यवस्थापनमा ध्यान दिनुहोस्, किनभने आज तपाईंले गर्ने छनोटहरूले भविष्यको जीवनशैली निर्धारण गर्न मद्दत गर्नेछन्।

मैले कसरी आफ्नो सुपर (निवृत्तिभरण) बचत वृद्धि गर्न सक्छु?

रोजगारदाताले गर्ने योगदानका अतिरिक्त, तपाईंले आफ्नै योगदान गरेर आफ्नो सुपर (निवृत्तिभरण)मा रकम थप्न सक्नुहुन्छ। तपाईं आफ्नो कर कटौती अघिको तलवबाट आफ्नो सुपर (निवृत्तिभरण) खातामा 'तलवबाट कट्टा गरी' रकम जम्मा गर्न सक्नुहुन्छ वा कर तिरिसकेपछिको आयबाट पनि रकम जम्मा गर्न सक्नुहुन्छ।

अतिरिक्त कर नतिरी प्रत्येक आर्थिक वर्षमा सुपर (निवृत्तिभरण)मा जम्मा गर्न सकिने रकमको सीमा हुन्छ, जसलाई ‘क्याप्स’ भनिन्छ। यदि तपाईंले यी सीमाभन्दा बढी रकम जम्मा गर्नुभयो भने, अतिरिक्त कर तिर्नुपर्ने(अंग्रेजीमा) हुन सक्छ। यदि तपाईंले आफ्नो सुपरमा (रोजगारदाताको योगदान सहित) कर छुट प्राप्त योगदानको सीमा (concessional contributions cap) (अंग्रेजीमा) भन्दा बढी योगदान गर्ने योजना बनाउनुभएको छ भने, परामर्शदाताको सल्लाह लिनुहोस्।

सरकारले सुपर (निवृत्तिभरण)मा गर्ने योगदानहरू

तपाईंको आय निम्न वा मध्यम स्तरको छ भने तपाईं अष्ट्रेलियाली सरकारले गर्ने सुपर(निवृत्तिभरण) योगदानहरू (अंग्रेजीमा)को लागि योग्य हुन सक्नुहुन्छ।

तपाईं $500 सम्मको सुपर (निवृत्तिभरण) सह-योगदान भुक्तानी प्राप्त गर्न योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने जाँच गर्न आफ्नो कर विवरण पेश गर्नुहोस्। तपाईंले फिर्ता रकम प्राप्त गर्नुहुन्न भन्ने लागे पनि कर विवरण पेश गर्नु महत्त्वपूर्ण छ। सुपर (निवृत्तिभरण) सह-योगदान का लागि छुट्टै आवेदन दिन आवश्यक छैन।

मैले कसरी आफ्नो सुपर (निवृत्तिभरण) बचतमा पहुँच प्राप्त गर्न सक्छु?

सामान्यतया, तपाईंले अवकाश लिएपछि आफ्नो सुपर (निवृत्तिभरण) रकममा पहुँच प्राप्त गर्न सक्नुहुन्छ। तथापि, गम्भीर वित्तीय जटिलता वा विशेष स्वास्थ्य अवस्थाजस्ता केही परिस्थितिहरूमा तपाईंले आफ्नो सुपर (निवृत्तिभरण) बचतमा समयअघि नै पहुँच प्राप्त गर्न सक्नुहुन्छ।

यदि तपाईंलाई आफ्नो सुरक्षित राखिएको सुपर (निवृत्तिभरण) को केही रकम वैध रूपमा समयअघि आवश्यक छ भने, आवेदन दिनुअघि त्यसमा पहुँच प्राप्त गर्न सकिन्छ कि सकिँदैन भन्ने बारे आफ्नो सुपर कोषसँग बुझ्नुहोस्।

अष्ट्रेलिया छोड्ने अस्थायी बासिन्दाहरू

यदि तपाईं अष्ट्रेलियामा काम गर्ने अस्थायी बासिन्दा हुनुहुन्छ र सुपर (निवृत्तिभरण)का लागि योग्य हुनुहुन्छ भने, तपाईंको रोजगारदाताले तपाईंका लागि सुपर (निवृत्तिभरण) ग्यारेन्टी योगदान गर्नुपर्छ। तपाईंले अष्ट्रेलिया छोडिसकेपछि आफ्नो सुपर(निवृत्तिभरण) रकम प्राप्त गर्न सक्नुहुन्छ। यस भुक्तानीलाई डिपार्टिङ अष्ट्रेलिया सुपर (निवृत्तिभरण) भुक्तानी (DASP) भनिन्छ।

न्यूजिल्याण्डका नागरिकहरू तथा अष्ट्रेलियाका स्थायी बासिन्दाहरू यस भुक्तानीका लागि योग्य हुँदैनन्।

तपाईं यो सुविधा प्राप्त गर्न योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने जान्न र अनलाइनबाट वा कागजी फाराम डाउनलोड गरेर DASP को लागि आवेदन दिन अस्थायी निवासी र सुपर (निवृत्तिभरण) हेर्नुहोस्। (अंग्रेजीमा)

विदेशबाट प्राप्त सुपर (निवृत्तिभरण) रकम

यदि तपाईं विदेशबाट आफ्नो रकम वा सुपर (निवृत्तिभरण) कोष ल्याउँदै हुनुहुन्छ भने, तपाईंले जान्नुपर्ने विशेष करसम्बन्धी नियमहरू हुन सक्छन्। आफ्नो वित्तीय सल्लाहकार वा आप्रवासन प्रतिनिधिसँग परामर्श गर्नुहोस्।

के मैले आफ्नो सुपर (निवृत्तिभरण) चाँडै निकालिदिने प्रस्तावहरूप्रति सावधान हुनुपर्छ?

अवकाश लिनुअघि आफ्नो सुपर (निवृत्तिभरण) बचतमा समयअघि पहुँच दिलाउने प्रस्तावहरूप्रति सावधान रहनुहोस्। ऋण तिर्न, घर वा गाडी किन्न, वा बिदामा जानजस्ता कारणका लागि आफ्नो सुपर (निवृत्तिभरण) बचतमा समयअघि पहुँच दिलाउने योजनाहरू गैरकानुनी हुन्, र त्यस्ता योजनामा सहभागी भएमा तपाईंले ठूलो जरिबाना तिर्नु पर्ने हुन सक्छ।

उदाहरण: फिल एउटा जालबाट जोगिए

म विगत केही महिनादेखि गाडी किन्नका लागि बचत गर्दै आएको छु। मेरा एक सहकर्मीले मलाई आफ्ना साथीबारे बताए, जसले गाडीको भुक्तानी गर्न मेरो केही सुपर (निवृत्तिभरण) रकम निकाल्न मद्दत गर्न सक्ने बताएका थिए।

भाग्यवश, मैले ATO वेबसाइटमा जाँच गर्दा यो गैरकानुनी रहेको थाहा पाएँ। यसरी मैले रकम झिकेको भए मैले 45% कर तिर्नुपर्ने हुन्थ्यो। त्यसका अतिरिक्त, मैले जरिवाना र सम्भावित कारावासको सजाय पनि भोग्नुपर्ने हुन सक्थ्यो — यो निकै महँगो गल्ती हुने थियो।

End of example

यो जानकारी अन्य भाषाहरू मा पनि उपलब्ध छ।

थप जानकारी

यदि तपाईं सुपर (निवृत्तिभरण) बारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, ato.gov.au/individuals/super (अंग्रेजीमा) हेर्नुहोस् वा 13 10 20 मा हामीलाई सम्पर्क गर्नुहोस्।

यदि तपाईं राम्रोसँग अंग्रेजी बोल्न सक्नुहुन्न तर कर अधिकृतसँग कुरा गर्न चाहनुहुन्छ भने, आफ्नो फोनमा सहयोग प्राप्त गर्न अनुवाद तथा दोभाषे सेवा (TIS National) लाई 13 14 50 मा सम्पर्क गर्नुहोस्।



QC62050